बर्दिया प्रहरीको हिरासत कक्षबाटै फरार बलात्कार आरोपी खाँ नेपाल भारत सीमाबाट पक्राउ • Osvevo

बर्दिया प्रहरीको हिरासत कक्षबाटै फरार बलात्कार आरोपी खाँ नेपाल भारत सीमाबाट पक्राउ

Osnepal Admin (KTM) August 08, 2022
0

सन्दिप योगी/ बर्दिया । ईलाका प्रहरी कार्यालय मोतिपुर, बर्दियाको हिरासत कक्षबाटै फरार थुनुवालाई बर्दिया प्रहरीले पक्राउ गर्न सफल भएको छ ।बलात्कार आरोपमा पक्राउ परेका २६ वर्षीय अब्दुल खाँ ईलाका प्रहरी कार्यालय मोतिपुर, बर्दियाबाट गत श्रावण ९ गते करिब १०:५५ बजे हिरासत कक्षबाटै फरार भएका थिए ।

बर्दिया प्रहरीले खाँको व्यापक खोजी कार्य जारी राखेको थियो ।हिरासतबाटै फरार भएका बाँके जिल्ला खजुरा गाउँपालिका वडा नम्बर ८ बस्ने बलात्कार आरोपी अब्दुल खाँलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) हृदेश कुमार सापकोटाको कमान्डमा खटिएको प्रहरी टोलीले श्रावण २३ गते आज सोमबार करिब १२:१५ मा बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर २ को नेपाल भारत सिमा नजिकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका (प्रवक्ता) प्रहरी नायब उपरीक्षक (डिएसपी) सूर्य प्रकाश सुबेदीले जानकारी दिनुभयो ।

गत श्रावण ९ गते करिब १०:५५ बजे खाना खुवाउने समयमा ड्युटीमा रहेको सेन्ट्रीलाई झुक्काएर बलात्कार आरोपी खाँ भागेका थिए ।बाँसगढी नगरपालिकाकी एक १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा खाँलाई गत असार २३ गते बाँके जिल्लाबाट बर्दिया प्रहरीले पक्राउ गरेको थियो ।

अब्दुल खाँलाई ईलाका प्रहरी कार्यालय मोतिपुरमा राखेर अनुसन्धान कार्य चलिरहेको थियो ।प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) सुबेदीका अनुसार बलात्कार आरोपी खाँ हिरासतबाट भागेकाले जबर्जस्ती करणी मुद्दामा थप सजाय हुनसक्ने कानुनी प्रावधान रहेको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर