वन तथा वातावरणमन्त्री प्रदीप यावदले नेपाललाई प्लाष्टिक प्रदूषणमुक्त बनाउन आफू प्रतिबद्ध रहेको बताउनुभएको छ ।दक्षिण एशियाली देशहरुमा रहेका नदी तथा समुद्रलाई प्लाष्टिक प्रदूषणमुक्त बनाउन दक्षिण एशिया सहकारी वातावरण कार्यक्रम (सासोप) ले आज आयोजना गरेको सरोकारवाला, परामर्शदाता तथा निकायहरुको सहभागितामा देश विशेष बृहत् कार्यशालामा मन्त्री यादवले नेपाललाई प्लाष्टिकजन्य फोहर र प्रदूषण नियन्त्रण गर्न आफू लागिपरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “प्लाष्टिकजन्य प्रदूषण अहिलेको सबैभन्दा ठूलो समस्यामध्ये एक हो, यसको समाधान खोज्न हामीले ढिलो गर्नु हुँदैन ।” सोही कार्यक्रममा मन्त्री यादवले ४० माइक्रोनभन्दा कम मोटाइको प्लाष्टिकको प्रतिबन्धलाई कडाइका साथ कार्यान्वयन गर्न आफूले निर्देशन दिएको जानकारी गराउनुभयो ।
नेपाललाई प्लाष्टिक प्रदूषणमुक्त बनाउन आफू प्रतिबद्ध रहेको र आफू मन्त्री नियुक्त भएपश्चात् छोटो समयमै धेरै कामको सुरुआत भएको मन्त्री यादवले जिकिर गर्नुभयो ।यसैगरी मन्त्री यादवले आगामी भदौ १ गतेदेखि प्लाष्टिक प्रदूषणमुक्त बनाउन थप काम हुन गइरहेको बताउनुभयो । यस्तै वीरगञ्जस्थित सिर्सिया नदीमा भइरहेको औद्योगिक र मानवीय प्रदूषणलाई नियन्त्रण गर्नका लागि मन्त्रालय तथा मातहतका निकायबाट महत्वपूर्ण काम भइरहेको उहाँको भनाइ थियो ।
उहाँले भन्नुभयो, “प्लाष्टिक प्रदूषणमुक्त बनाउन हामी एक्लैले चालेका कदम अपर्याप्त हुन सक्छन् । हामीलाई अन्तर्राष्ट्रियस्तरबाट पनि सहयोगको आवश्यकता छ, हाम्रो अभियानमा सबैको साथ र सहयोग आवश्यक छ ।”
सोही कार्यक्रममा मन्त्री यादवले प्लाष्टिकजन्य पुष्पगुच्छा तथा माला आयात, बिक्रीवितरण र भण्डारणमा पनि प्रतिबन्ध लगाइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नेपाललीले उत्पादन गरेका फूलहरु बिक्री हुँदैनन्, प्लाष्टिक पुष्पगुच्छा तथा मालाले प्रदूषण गर्ने भएकाले मैले प्लाष्टिक पुष्पगुच्छा तथा माला आयात, बिक्रीवितरण र भण्डारणमा पूर्णरूपमा प्रतिबन्ध लगाएको छु ।”