इलाम बजारको ट्राफिक व्यवस्थापनमा पर्यटन समितिको चासो • Osvevo

इलाम बजारको ट्राफिक व्यवस्थापनमा पर्यटन समितिको चासो

LC (KTM) August 09, 2022
0

मङ्गलबारे, २३ साउन – इलाम बजारमा बढ्दै गएको अव्यवस्थित यातायात व्यवस्थापनका लागि इलाम नगरपालिकाको नगर पर्यटन समितिले चासो देखाएको छ । पर्यटनमैत्री बजार निर्माणमा यातायात व्यवस्थापन पनि महत्वपूर्ण रहेकाले सो समितिले यसमा चासो देखाएको हो । उक्त समितिले इलाम सदरमुकाममा इलाम नगर क्षेत्रको ट्राफिक व्यवस्थापन सम्बन्धमा सम्बन्धित सेवा क्षेत्र एवम् सरोकारवाला संस्था तथा कार्यालयहरुबीच अन्तरक्रिया गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

कार्यक्रममा उपस्थित सरोकारवालाहरुले अव्यवस्थित पार्किङले समस्या निम्तिएको बताए । एकातिर बजार भित्रको सडक नै साँघुरो र अर्कातर्फ दुवै किनारामा मोटरसाइकल पार्किङले अझ समस्या निम्तिएको उनीहरुको भनाइ थियो । होटल एसोसिएशन इलामशाखाका अध्यक्ष देवी पौडेलले मोटरसाइकल जथाभावी पार्किङ गर्ने गरिएकाले समस्या निम्तिएको बताउनुभयो । उहाँले बजारका केही होटल बाहेकमा पार्किङको सुविधा नभएका कारण पनि समस्या बढेको हो भन्नुभयो ।

नगरपालिकाको वडा नं९स्थित शेरामा बसपार्क निर्माण भए पनि अर्कै प्रयोजनमा लगाइएकाले यो परिस्थिति आएको नेपाल पत्रकार महासङ्घ इलाम शाखाका अध्यक्ष विप्लब भट्टराईले बताउनुभयो । उहाँले तत्काल बसपार्क सञ्चालन गराउन नगरपालिका लाग्नुपर्ने धारणा व्यक्त गर्नुभयो । बाहिरबाट आउने पर्यटकहरुले होटलभन्दा पहिला पार्किङ सोध्ने गरेकाले पनि पार्किङ व्यवस्थित हुनुपर्ने अध्यक्ष भटृराईको तर्क थियो । बजारको सुन्दरतालाई भीडभाडले नै असर पार्ने भएकाले भीडलाई नै व्यवस्थित गर्नुपर्ने पूर्वेली ट्याक्सी जिप तथा यातायात प्रालिका अध्यक्ष ग्रीष्म सुब्बाको भनाइ थियो । पार्किङ व्यवस्थित गर्न सके भीडभाडले मात्र खासै असर नगर्ने उल्लेख गर्दै उहाँले मोटरसाइकल चालकलाई लाइसेन्स दिँदा नै पार्किङ सम्बन्धित ज्ञान दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

बजारवासी हुकुम थेवेले सवारी साधनमात्र मात्र समस्या नभएको भन्दै सडकको अवस्था सुधार गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले सधैँ सवारी साधनमात्रले भीड बढाउने कुरा बाहिर आए पनि सडकको अवस्थामा कसैको ध्यान नगएकामा चिन्ता व्यक्त गर्नुभयो । सबैले नियम कानुन मानेर अघि बढ्ने हो भने समस्या नरहने अर्का स्थानीयवासीसरस्वती कर्माचार्यको भनाइ थियो । उहाँँले पनि कहाँ पार्किङ गर्ने हो भनेर पहिला सिकाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । इलाम नगरपालिका–७ का वडासदस्य बिमल वैद्यले इलाम पुरानो बसपार्कमा निर्माणाधीन ट्याक्सी स्ट्यान्ड सम्पन्न भएपछि समस्या समाधान हुने बताउनुभयो । उहाँँले सो स्ट्यान्ड सम्पन्न भएपछि ५० प्रतिशत समस्या हराउने धारणा व्यक्त गर्नुभयो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक गङ्गाबहादुर थापाले जिल्लामा नौ जनाको दरबन्दी रहेकामा हाल २० ट्राफिक हुँदा पनि अझै अपुग भएको बताउनुभयो । उहाँले ५५ किलोमिटर पक्की र सात सय ३६ किलोमिटर कच्ची सडक भएकाले एक ट्राफिकले ८७ किलोमिटर सडक हेर्नु परेको र ट्राफिक सङ्केतको समेत कमी भएको बताउनुभयो । यातायात व्यवस्था सेवा कार्यालयका निमित्त प्रमुख रविन श्रेष्ठले गएको एकै वर्ष एक हजार छ सय गाडी कार्यालयमा दर्ता भएको बताउनुभयो । यातायातका साधन बढ्दै गएकाले पनि यस्तो समस्या बढ्दै गएको उहाँको भनाइ थियो।

नगरउपप्रमुख विष्णु दाहालले इलामको समृद्धिसँग पर्यटन जोडिएकाले नगरपालिकाले पर्यटन प्रवद्र्धनमा चासो दिएको बताउनुभयो । उहाँले ट्राफिक व्यवस्थापनमा समेत नगरपालिकाले उत्तिकै चासो दिएकाले समस्या क्रमशः व्यवस्थित हुँदै जाने धारणा व्यक्त गर्नुभयो । नगर प्रमुख केदार थापाले इलाम चोकबजारभित्र निजी सवारी तथा मोटरसाइकललाई मात्र व्यवस्थित पार्किङको व्यवस्था मिलाउन ट्राफिक प्रहरीलाई आग्रह गर्नुभयो । उहाँले मोटरसाइकल पार्किङको छुट्टै स्थान रहेकाले सोही स्थानमा पार्किङ गराउन आग्रह गर्दै बिहानदेखि बेलुकासम्म चहलपहल हुने सोयाङ, नयाँबजार, प्याङ क्षेत्रका सवारी साधनले यातायात व्यवस्थापनमा समस्या गराएकाले तिनको व्यवस्थापनमा समेत नगरपालिका लाग्ने बताउनुभयो ।

सो स्थानमा रहेका सवारीसाधनलाई आदर्श माविको जग्गा (पुरानो कृषि बजार) मा राख्ने र बिहान–बेलुका मात्र सो स्थानबाट सञ्चालनमा ल्याउने जानकारी दिँदै उहाँले नगरपालिकाले ट्राफिक व्यवस्थापनसम्बन्धी योजना बनाइसकेकाले त्यसलाई कार्यान्वयनमा ल्याइनेमा जोड दिनुभयोे । सञ्चारकर्मी भीम चापागाइँले नगरपालिकाभित्र रहेको ट्राफिक जाम र भोग्नु परेको असरबारे एक भिडियो सामग्री प्रस्तुत गर्नुभएको थियो । पर्यटन समितिका संयोजक प्रकाश अधकारीको अध्यक्षतामा भएको कार्यक्रममा केचना कञ्चनजङ्घा पर्यटन विकास समितिका कार्यकारी निर्देशक केशव द्यौराली, ट्राफिक प्रहरी प्रमुखलगायत विभिन्न सङ्घसस्था तथा कार्यालयका प्रतिनिधिको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर