सप्तरीमा पोखरीमा डुबेर दुई जनाको मृत्यु • Osvevo

सप्तरीमा पोखरीमा डुबेर दुई जनाको मृत्यु

LC (KTM) August 09, 2022
0

सप्तरी-सप्तरीको दुई छुट्टाछुट्टै घटनामा पोखरीमा डुबेर आज दुई जनाको मृत्यु भएको छ । सप्तरी छिन्नमस्ता गाउँपालिका–४ लालापट्टीस्थित हजुरबुबा देवनारायण पण्डितको घर आएका झापाको घैलाडुब्बा–६ घर भएका सञ्जय पण्डितका छोरा दुई वर्षीय दीप पण्डितको पोखरीमा डुबेर मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

गाउँको डिहबार थानको पूर्व रहेको पोखरी नजिकै खेल्ने क्रममा चिप्लिएर डुबेका बालकलाई गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो ।

यसैगरी विष्णुपुर गाउँपालिका–३ बस्ने सीताराम सदाको छोरा ३५ वर्षीय लल्कु भनिने शिवशङ्कर सदाको पोखरीमा डुबेर मृत्यु भएको छ । विष्णुपुर गाउँपालिका–१ र ३ को सीमामा रहेको कट्टी मुसहरीस्थित सार्वजनिक पोखरीमा फुलेको कमलको फूल टिप्न गएका सदाको डुबेर मृत्यु भएको स्थानीयवासी राजेन्द्र सदाले बताउनुभयो ।

घटनास्थलमा पुगेको बरख गणका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्धार गरी सदालाई गजेन्द्रनारायण सिंह अस्पताल भर्ना गरेकोमा आज दिउँसो मृत्यु भएको अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर