मुलुकमा संस्कृत शिक्षाको ठूलो महत्त्व रहेको छ : प्रदेश प्रमुख खापुङ • Osvevo

मुलुकमा संस्कृत शिक्षाको ठूलो महत्त्व रहेको छ : प्रदेश प्रमुख खापुङ

LC (KTM) January 05, 2023
0

मोरङ – प्रदेश नं १ का प्रदेश प्रमुख परशुराम खापुङले मुलुकमा ऐतिहासिकरूपदेखि नै संस्कृत शिक्षाको ज्यादै ठूलो महत्त्व रहेको बताउनुभएको छ ।नेपाल शिक्षण परिषदाद्वारा लक्ष्मीनारायण वेदविद्याश्रम गुरुकुल विराटनगर–११ पाञ्चालीमा आयोजित १२ दिने संस्कृत भाषा प्रशिक्षणको आज यहाँ आयोजित समापनका अवसरमा उहाँले पुराण, वेद, विभिन्न श्लोक, रामायण, गीता तथा महाभारतलगायतमा भाषाको जग संस्कृत रहेको प्रष्ट पार्नुभयो ।

प्रदेश प्रमुख खापुङले संस्कृत भाषालाई बलियो बनाउन राज्यले विशेष योगदान, संवद्र्धन र संरक्षण गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले समाजमा खस्किँदै गएको नीति शिक्षालाई बढावा दिन, राम्रा परम्पराहरूको संरक्षण र सभ्यतालाई अगाडि बढाउनका साथै आचरणयुक्त समाज निर्माण गर्न गुरुकुल शिक्षाको उद्देश्य रहेको विचार राख्नुभयो ।

प्रमुख खापुङले गुरुकुल पद्धतिलाई कायम राख्दै समाजलाई आगाडि बढाउन एवं सामाजिक सद्भावलाई बलियो बनाउन विज्ञान र प्रविधिलाई संस्कृत भाषाले सँगसँगै लिएर हिँडनुपर्ने सुझाव दिनुभयो ।सो अवसरमा गुरुकुलका अच्युत प्रपन्नाचार्य, परिषद्का महामन्त्री डा वासुदेव कृष्ण शास्त्री, गुरुकुल अभियन्ता डा दीप कोइराला र आचार्य चक्रपाणि नेपालले संस्कृत भाषा धार्मिक नभएर विश्वका सबै भाषाको जननी रहेको प्रष्ट पार्नुभयो ।

पुस १० गतेदेखि सञ्चालित संस्कृत भाषा प्रशिक्षणमा मुलुकभरिका विभिन्न गुरुकुलमा अध्ययनरत तीन सय विद्यार्थीलाई एक सय प्राध्यापकले प्रशिक्षण दिनुभएको थियो । सोही अवसरमा विराटनगर ११ बुँदे प्रतिबद्धतापत्रसमेत सार्वजनिक गरिएको छ । प्रदेश प्रमुख खापुङले आचार्य गौरव सम्मानबाट सात जना र संस्कृत युवा गौरवबाट सात जनालाई नगदसहित सम्मान गर्नुभयो । प्रदेश नं १ मा गुरुकुल शिक्षामा चार हजार पाँच जना अध्ययनरत रहेका छन् । प्रशिक्षणबाट ४० जना संस्कृत भाषाका प्रशिक्षक उत्पादन भएका छन् । उनीहरूले आगामी दिनमा विभिन्न प्रदेशमा प्रशिक्षण दिने सोही अवसरमा जानकारी गराइयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर