एसइई परीक्षा दिएर घरतर्फ जाँदै गरेका विद्यार्थी चढेका जीप दुर्घटना • Osvevo

एसइई परीक्षा दिएर घरतर्फ जाँदै गरेका विद्यार्थी चढेका जीप दुर्घटना

LC (KTM) April 10, 2023
0

सुदूरपश्चिम-धनगढी–डडेलधुरा (भीमदत्त) राजमार्गअन्तर्गत कैलालीको चुरेपहाडी क्षेत्र फल्टुडे सडकखण्डमा गए राति भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीनजना घाइते भएका छन् ।

सुपप्र ०१००१ ज १४२३ नम्बरको जीप दुर्घटनामा घाइते भएका चुरे गाउँपालिका–६ का १८ वर्षीय भानु ठगुन्नाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताउनुभयो । उपचारका लागि धनगढी ल्याउने क्रममा ठगुन्नाको बाटोमै मृत्यु भएको हो ।

दुर्घटनामा चुरे गाउँपालिकाकै प्रकाश धामी, हरिष धामीसहित तीन विद्यार्थीसमेत घाइते भएका छन् । घाइतेको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ । झण्डै ४५ किलोमिटरको दूरीमा रहेको अत्तरियास्थित दुर्गालक्ष्मी माध्यमिक विद्यालयमा एसइई परीक्षा दिएर घरतर्फ जाँदै गरेका उनीहरु जीप दुर्घटनामा परेका बताइएको छ । मृतक र घाइते चुरे गाउँपालिकाको मलकटेश्वर माविमा अध्ययनरत विद्यार्थी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर