५४ मेगावाटको सुपरदोर्दी ‘ख’ को ९६ प्रतिशत निर्माणकार्य सम्पन्न , असारबाट विद्युत् उत्पादन थाल्ने • Osvevo

५४ मेगावाटको सुपरदोर्दी ‘ख’ को ९६ प्रतिशत निर्माणकार्य सम्पन्न , असारबाट विद्युत् उत्पादन थाल्ने

Osnepal April 10, 2023
0

लमजुङ २७ चैत । आउँदो असारभित्र ५४ मेगावाट क्षमताको सुपरदोर्दी ‘ख’ जलविद्युत् आयोजनाबाट विद्युत उत्पादन हुने भएको छ ।

आयोजना निर्माणका अधिकांश काम सम्पन्न भएको र आउँदो असारभित्र नै आयोजनाबाट व्यवसायिक रुपमा विद्युत् उत्पादन सुरु हुने जनाइएको छ ।

लमजुङमा निर्माणधीन उक्त जलविद्युत् आयोजनाको हालसम्म ९६ प्रतिशत काम पूरा भएको आयोजना निर्देशक अर्जुन गौतमले जानकारी दिए ।

पिपुल्स हाइड्रोपावर कम्पनीले प्रवद्र्धन गरिरहेको सो आयोजनाको बाँध, विद्युतगृह, सुरुङमार्ग निर्माण, उपकरण जडानलगायतका काम सम्पन्न भएको आयोजनाले जनाएको छ ।

विसं २०७२ साल असोजदेखि आयोजना निर्माण सुरु गरिएको थियो । २०७८ (असार–साउन) महिनामा दोर्दीखोलामा आएको बाढीका कारण जलविद्युत् आयोजनाको बाँध बगाएको थियो भने अन्य संरचनामा समेत क्षति पुगेको थियो ।

बाढीका कारण पुगेको क्षतिका कारण आयोजना थप डेढ वर्ष पछि धकेलिन पुगेको आयोजना निर्देशक गौतम बताउँछन् । यसअघि २०७९ असार मसान्तसम्म आयोजना निर्माण सम्पन्न गरी विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको थियो ।

लमजुङको दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणधीन उक्त जलविद्युत् आयोजनाको अधिकांश पूर्वाधार संरचना भूमिगत रुपमा बनेका छन् । आयोजनाको विद्युत् गृहसमेत भूमिगत रहनेछ । कुल ८ अर्ब ८० करोड रुपैयाँमा निर्माण सम्पन्न गर्ने गरी लागत अनुमान गरिएको थियो । तर, आयोजना अवधि लम्बिएसँगै लागत पनि बढ्न सक्ने आयोजनाले जनाएको छ । आयोजना निर्माणमा सानिमा बैंकको अगुवाइमा विभिन्न ७ वटा बैंकको ५ अर्ब ८० करोड रुपैयाँ ऋण लगानी छ ।

७० प्रतिशत ऋण र बाँकी प्रवद्र्धन लगानीमा निर्माण हुँदै आएको छ । आयोजनामा प्रभावित क्षेत्रका जिल्लावासीको मात्र रु २७ करोड लगानी रहेको छ । आयोजनाले सुक्खायाममा आठ रुपैयाँ ४० पैसा र बर्षायाममा चार रुपैयाँ ८० पैसामा विद्युत् खरीद गर्ने (पिपिए) सम्झौता भएको छ । विसं २०७१ सालमा नेपाल विद्युत् प्राधिकरण र आयोजनाबीच पिपिए सम्झौता भएको थियो ।

आयोजनाबाट उत्पादित हुने बिजुली दोर्दी करिडोर प्रसारण लाइनको कीर्तिपुर सबस्टेसन ल्याएर जोडिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर