नयाँ वर्षमा सबै देशवासीमा राष्ट्रिय एकता कायम रहोस् : पूर्वराष्ट्रपति यादव • Osvevo

नयाँ वर्षमा सबै देशवासीमा राष्ट्रिय एकता कायम रहोस् : पूर्वराष्ट्रपति यादव

LC (KTM) April 14, 2023
0

काठमाडौँ-पूर्वराष्ट्रपति डा रामवरण यादवले नयाँ वर्ष २०८० मा सम्पूर्ण देशवासीमा राष्ट्रिय एकता कायम रहने प्रेरणा मिलोस् भनी कामना गर्नुभएको छ । नयाँ वर्ष २०८० का अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले सम्पूर्ण नेपालीको सुख समृद्धिको कामनासमेत गर्नुभएको छ ।

पूर्वराष्ट्रपति डा यादवले दशकौँको नेपाली नागरिकको ठूलो त्याग, तपस्या र बलिदानीबाट गणतान्त्रिक लोकतन्त्र स्थापना भएकाले यसको स्थायित्व नै सबैको आजको आवश्यकता भएको बताउनुभयो । सन्देशमा उहाँले भन्नुभएको छ, “लोकतन्त्र सबैभन्दा उत्तम व्यवस्था हो, यसको उपभोग सबै नेपालीले समान रुपमा गर्न पाऊन्, नयाँ वर्षमा परिवार, समाज र राष्ट्रको प्रगति हुन सकोस् ।”

लोकतन्त्र नै सभ्य समाज निर्माणका लागि सबैभन्दा समुन्नत व्यवस्था भएको उल्लेख गर्नुहुँदै पूर्वराष्ट्रपति डा यादवले सबै नागरिकले आर्थिक, सामाजिक, धार्मिक, राजनीतिक, सांस्कृतिकलगायतका अधिकार समानरुपमा उपभोग गर्न पाउनुपर्नेमा सो सन्देशमा जोड दिनुभएको छ ।

सन्देशमा भनिएको छ, “आज हामी यस्तो गणतान्त्रिक लोकतन्त्रिक समावेशी व्यवस्थामा आइपुगेका छौँ, जुन वर्षाैंको त्याग तपस्याले मात्र सम्भव भएको हो, यसलाई सबैले मनन गरौँ र यसबाट लाभलिन सिकौँ, सबैले सबैसँग आपसी सद्भाव कायम राख्न सकौँ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर