कृषि क्षेत्रका गतिविधि जानकारी लिँदै मन्त्री भुसाल • Osvevo

कृषि क्षेत्रका गतिविधि जानकारी लिँदै मन्त्री भुसाल

LC (KTM) May 13, 2023
0

काठमाडौँ- कृषि तथा पशुपन्छी विकास मन्त्री डा बेदुराम भुसालले प्रदेश सरकारका कृषि मन्त्री र सचिवसँग शुक्रबार छलफल गर्नुभएको छ । कोशी, मधेश र कर्णालीका कृषिमन्त्री तथा लुम्बिनी, गण्डकी, वाग्मती र सुदुरपश्चिम प्रदेशका कृषि सचिवलाई शुक्रबार कृषि मन्त्रालयमै बोलाएर मन्त्री भुसालले आगामी बजेट तथा कृषि क्षेत्रमा भए गरेका गतिविधिबारे जानकारी लिनुभएको हो ।

सो क्रममा उहाँले अब नतिजामुखी भएर काम गर्नुको विकल्प नभएको भन्दै आवश्यक निर्देशनसमेत दिनुभयो । नेपालको कृषि क्षेत्रको विकासको लागि छुट्टै ऐन नबन्दा समस्या सिर्जना भएको भन्दै आफूले गर्न सक्ने क्षेत्रमा इमान्दारीपूर्वक काम गरेर जनताको मन जित्नु अहिलेको आवश्यकता रहेको उहाँको भनाइ थियो ।

कृषिको आधुनिकीकरण तथा यान्त्रिकीकरणमा जोड दिन आग्रह गर्दै मन्त्री भुसालले भन्नुभयो, “कृषिको आधुनिकीकरण र यान्त्रीकीकरणमा हाम्रो ध्यान छैन । अनुदानको रकम दुरुपयोग भइरहेको सुनिन्छ । उत्पादनमुखी अनुदान छैन । वास्तविक किसानसँग अनुदान नपुगेको गुनासो सुनिन्छ । यत्ति कुरामा तपाईं सचेत रहन सक्नुभयो भने पनि धेरै सुधार हुन्छ । तपाईंहरू इमान्दार भएर काम गर्नुहोला ।’

मन्त्री भुसालले यसपटक किसानको लागि रासायनिक मल सहज हुने बताउँदै सोहीअनुसार आफूले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताउनुभयो । सो अवसरमा पोखरा उप–महानगरपालिकाका प्रमुख धनराज आचार्यसमेतको सहभागिता भएको छलफलमा मन्त्री भुसालले प्रदेश र स्थानीय तहमा भए गरेका कामको जानकारी लिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर