सडकको पहुँचले सहज बन्दै बोबाङको जनजीवन • Osvevo

सडकको पहुँचले सहज बन्दै बोबाङको जनजीवन

LC (KTM) May 14, 2023
0

ढोरपाटन-“यस्तो अनकन्टार ठाउँमा मोटरगाडी आउला भन्ने सोचेकै थिएनौँ, अहिले त सबै पाखापखेरामा गाडी दौडिरहेका छन्”, बागलुङको ढोरपाटन नगरपालिका–८ का वीर्खमान सुनारले सुनाउनुभयो । गाउँमा यी बाटामा दैनिक गुड्ने सवारीले उहाँ जस्ता धेरैको समस्या थोरै भए पनि समाधान गरिदिएको छ । किनभने सडकको सहज पहुँचले केही सुविधा पनि ल्याइदिएको छ ।

जिल्ला सदरमुकाम बागलुङ बजारदेखि सुदूरपश्चिममा रहेको बोबाङ गाउँ डेढ एकदशक अगाडिसम्म मोटरबाटो पुगेको थिएन । यहाँ घोडा र खच्चडकै भरमा सामान ढुवानी हुन्थ्यो । तर अहिले मोटरगाडीले सामान ढुवानी गर्न थालेका छन् । दलित र जनजातिको बाहुल्यता रहेको बोबाङमा सडकको पहुँले दैनिकी फेरिदिएको छ ।

गाडी गुड्न थालेपछि यहाँका नागरिकले शिक्षा, स्वास्थ्य तथा यातायातमा राम्रो सेवा पाउने भएका छन् । बहुप्रतिक्षित ढोरपाटन शिकार आरक्षको प्रवेशमार्ग सालझण्डी ढोरपाटन सडक गाउँको मध्य भागबाटै ढोरपाटनसँग जोडिएको हो ।

विसं २०६६ यता सडक पुगेपछि पनि अहिले पनि यदाकदा घोडामै सामान ढुवानी हुने गरेको छ । तर पहिलेको तुलनामा निकै कम मात्रै छ । यहाँका धेरैजसो नागरिक घुम्ती बसाइँ गर्ने गर्छन् । वर्षातको समय ढोरपाटन (लेक) र हिउँदको समय बोबाङ (औँल)मा बस्ने गर्छन् ।

गाउँमा अपेक्षाकृत विकास नभए पनि सडक सञ्जाल जोडिएपछि पहिलेको तुलनामा निकै परिवर्तन आएको वीर्खमानको भनाइ छ । यहाँका नागरिक खेतीपाती र पशुपालनमै निर्भर छन् ।

स्थानीय पनि शिक्षित र सचेत बन्दै गएको ढोरपाटन नगरपालिका–८ का पूर्वअध्यक्ष नन्दे सुनारको भनाइ छ । उहाँले सडकका कारण जनजीवनमा पनि ठूलो परिवर्तन आएको बताउनुहुन्छ ।

सालझण्डी–ढोरपाटन सडकले बोबाङ गाउँ मात्रै नभइ सिङ्गो भूजीखोलावासी नै लाभग्राही बनेका छन् । स्थानीय मीना विकले नून, चामल बुटवल, पत्थरकोटबाट बोकेर उपभोग गरेको अनुभव सुनाउनुभयो । अहिले घरमै चाहिएका सबैथोको पाइने बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “बुर्तिबाङ सडक नआउँदासम्म यस ठाउँका मान्छेले बटौली, तम्घास, चोरकाटेबाट नून, तेल र चामल बोकेर ल्याउँथे, बटौली पुग्न दुई साता लाग्थ्यो, अहिले त एक दिन पनि लाग्दैन, पहिलेको जस्तो नून तेल ल्याउन जानुपर्दैन ।”

बोबाङ गाउँ नेपालको एक मात्रै सिकार आरक्ष ढोरपाटनको प्रवेशद्वार पनि हो । सडकले ढोरपाटनमा उत्पादन हुने आलु, स्याउ र सिमी बजारीकरणमा सहज बनाइ दिएको स्थानीय प्रेम घर्तीमगरले बताउनुभयो । सडक सञ्जालले नजोडिदा यहाँ उत्पादन हुने कृषि उपज वस्तु खेरगइरहेको भन्दै अहिले स्थानीयवासीले सहजै बजार पु¥याएर आम्दानी गर्न थालेको उहाँ बताउनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर