अनुगमन गर्न म्याग्दीका कृषि प्राविधिक र जनप्रतिनिधि किसानका खेतबारीमा • Osvevo

अनुगमन गर्न म्याग्दीका कृषि प्राविधिक र जनप्रतिनिधि किसानका खेतबारीमा

LC (KTM) May 24, 2023
0

म्याग्दी- गत साता आएको भीषण असिना पानीले क्षति पुर्याएको खाद्यान्न, तरकारी र फलफूल खेतीको अनुगमन गर्न र किसानका समस्या बुझ्न पश्चिमी म्याग्दीका कृषि प्राविधिक र जनप्रतिनिधि किसानका खेतबारीमा पुगेका छन् । असिनाको मारमा परेका किसानको समस्या बुझ्न मङ्गला र मालिका गाउँपालिकाका कृषि प्राविधिक र जनप्रतिनिधि किसानका खेतबारीमा पुगेका हुन् ।

किसानले भोगेका समस्या र मौसमले गरेको क्षतिबारे बुझ्न, क्षतिको तथ्याङ्क लिन र किसानको अवस्थाको बारेमा जानकारी लिन जनप्रतिनिधिसहित प्राविधिक कर्मचारी किसानका खेतबारीमै गएको मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले जानकारी दिनुभयो ।

गाउँपालिकाले जनप्रतिनिधिसहित कृषि प्राविधिकलाई पालिकाभित्रका सबै वडामा खटाएको र शनिबारदेखि मङ्गलबारसम्म मङ्गला–३ र ४ मा पर्ने बरजामा अनुगमन तथा निरीक्षण गरिएको कृषि प्राविधिक बानियाँले जानकारी दिनुभयो ।

अनुगमन र निरीक्षणका साथै किसानलाई हौसला दिन, बजारीकरण, मल, बीउ ढुवानी, रोगकीराको समस्या बुझ्न र किसानले तयार पारेका मोडल फर्महरूको अवस्था बुझ्न अनुगमन सुरु गरिएको मङ्गला गाउँपालिकाले जनाएको छ । असिनापानीले खुल्ला रूपमा गरिएको मकै, गहुँ, तरकारी र सुन्तलाजातका फलफूल, आँपका फूल झारेर किसान समस्यामा रहेको मङ्गला–३ का वडाअध्यक्ष यामबहादुर रोकाले बताउनुभयो ।

अनुगमन गर्दा अधिकांश किसानले प्लास्टिक घरभित्र लगाएका गोलभेँडामा टुट्टा कीराको आक्रमण र डडुवा रोग लागेको, मकैबालीमा फौजी कीराको प्रकोप देखिएको, तापक्रम सन्तुलन नहुँदा रोगको प्रकोप बढ्दै गएको पाइएको मङ्गला–३ का प्राविधिक सहायक तारा बानियाँले बताउनुभयो । उहाँका अनुसार गत साताको असिना पानीले तीन सय बढी किसानले लगाएको बालीनालीमा क्षति पु¥याएको छ । क्षतिको प्रारम्भिक अनुगमनका क्रममा करिब रु चार करोडको क्षति भएको छ ।

त्यसैगरी मालिका गाउँपालिकाका–५, ६ र ७ मा पनि गत साताको असिना पानीले क्षति पु¥याएको बालीको निरीक्षण गर्न र किसानका समस्या बुझ्न कृषि प्राविधिकसहित जनप्रतिनिधिको टोली किसानको खेतबारीमा नै पुगेको छ । किसानले सोही अवसरमा आ–आफ्ना समस्या जनप्रतिनिधि र कृषि प्राविधिकलाई जानकारी गराएका छन् ।

उत्पादित तरकारी ढुवानी गर्न र बजारमा पुगेर मल, कीटनाशक विषादी ल्याउन समस्या भइरहेको किसानले गुनासो गरे । बजारसम्म सामान ढुवानी गर्न पालिकाले सहजीकरण गरिदिनुपर्ने र मल, बीउ, विषादी खरिद गर्न सहयोग गर्नुपर्ने बताएका थिए । उनीहरूले कोरोनाले अब गाउँमा रमाउन र बाँझो खेतमा खेतीपातीको वातावरण मिलाइदिन जनप्रतिनिधिसँग माग गरेका छन् । राज्यले कृषिलाई बढी प्राथमिकतामा राखेर अबको नीति तथा कार्यक्रम बनाउन पनि किसानले सुझाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर