देश विकासमा संस्कृतिकर्मीको भूमिका महत्त्वपूर्ण : मन्त्री गुरुङ • Osvevo

देश विकासमा संस्कृतिकर्मीको भूमिका महत्त्वपूर्ण : मन्त्री गुरुङ

LC (KTM) May 24, 2023
0

काठमाडौँ-कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले देश विकासमा संस्कृतिकर्मीको अहम् भूमिका रहने बताउनुभएको छ । नेपाल सांस्कृतिक महासङ्घको स्थापना दिवसका अवसरमा आज काठमाडौँमा आयोजित ‘राष्ट्रिय प्रशिक्षण भेला तथा चित्रकला कार्यशाला २०८०’ को उद्घाटन गर्दै उहाँले संस्कृतिकर्मीको भूमिकालाई सम्मान गर्नुपर्ने बताउनुभयो ।

नेपालको राजनीति विकृत र विसङ्गत तरिकाले अगाडि बढिरहेकाले शुद्धीकरण गर्नु जरुरी रहेको उहाँको भनाइ छ । “मैले हिजो कलम लिएर संविधान लेखे । आज मेरो हातमा कुचो छ । भ्रष्ट फोहर जहाँ भए पनि बाँकी राख्दिन । बढार्ने काम सुरू भइसकेको छ ।”, मन्त्री गुरुङले भन्नुभयो, “नातावाद, कृपावाद वा को पर्छ वा पर्दैन भन्ने, मुद्दा हाल्ने कि नहाल्ने सम्बन्धमा कुनै दुविधा छैन । यो प्रक्रियागतरुपमा अगाडि बढ्छ ।”

उहाँले सांस्कृतिक महासङ्घलाई आफ्नो गतिविधिमार्फत आम नागरिक सुसूचित गर्न सुझाव दिनुभयो । “भ्रष्टाचार गर्नेको कुनै राजनीति वा जात, धर्म हुँदैन । हामी सबै काण्डको छानविन निष्पक्षरुपमा गर्छौँ । हाम्रो अगाडि आउने कुनै तगारोले हामीलाई रोक्न सक्दैन्, यस अभियानमा महासङ्घको सहयोग आवश्यक छ ।”, मन्त्री गुरुङले भन्नुभयो ।

महासङ्घका अध्यक्ष तीर्थ थापाले संस्कृतिकर्मीको आवाजलाई बेवास्ता गर्न नहुने बताउनुभयो । “हाम्रो आवाज र उपस्थिति दुवै अगाडि पुग्न सकेका छैनन् । उचित स्थानमा हामीले सहभागिता पाउनेछौँ भन्ने विश्वास छ”, अध्यक्ष थापाले भन्नुभयो, “यो कार्यक्रमको उद्देश्य नै पालिकास्तरसम्मै संस्कृतिका माध्यमले जागरण ल्याउनु हो ।”

कार्यक्रममा देशभरबाट संस्कृतिकर्मीको सहभागिता रहेको महामन्त्री शिवशङ्कर रिजालले जानकारी दिनुभयो । उहाँले भेलालाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महर, प्रमोदहरी गुरागाईं लगायतले प्रशिक्षण दिने जानकारी दिनुभयो । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक महासङ्घको स्थापना १८ वर्ष अगाडि विसं २०६२ मा आजकै दिन भएको थियो । कार्यक्रमको उद्घाटनसत्रमा महासङ्घलाई आजको दिनसम्म ल्याउन योगदान दिने विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर