नेपाली महिला क्रिकेटकी पहिलो कप्तानद्वारा सन्यासको घोषणा • Osvevo

नेपाली महिला क्रिकेटकी पहिलो कप्तानद्वारा सन्यासको घोषणा

netra March 19, 2024
0

जानकी (बाँके), ६ चैत : नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी पहिलो कप्तान नेरी थापाले खेल जीवनबाट सन्यासको घोषणा गरेकी छिन् । उनले क्रिकेटबाट सन्यास लिएको सामाजिक सञ्जाल मार्फत घोषणा गरेकी हुन् ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–९ बाँकेगाउँकी थापाले झण्डै १७ वर्ष क्रिकेट खेलेकी थिइन् । थापाका प्रशिक्षक दीपेन्द्रप्रताप सिंहले उनले महिला क्रिकेटको माध्यमबाट नेपाललाई चिनाएको बताए । “नेरीले क्रिकेटमा अझै राम्रो गर्नसक्ने सम्भावना थियो”, उनले भने ।

लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य नरेन्द्र थापाले खेलाडीले निश्चित समयमा अवकाश लिनु सामान्य भएको बताए । “आफूले सिकेको सीपलाई नेरीले नयाँ पुस्तालाई हस्तातरण गर्नुपर्छ”, उनले भने ।

खेलकुद पत्रकार एवं क्रिएटिभस् ह्याण्डका संस्थापक अध्यक्ष टिएस ठकुरीले नेपालको महिला क्रिकेटमा नेरीको महत्वपूर्ण योगदान रहेको बताए ।

सन् २००७ मा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले थाइलैण्डविरुद्ध पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेल्दा नेरी नेपाली टोलीको कप्तान थिइन् । उनकै कप्तानीमा नेपालले सन् २००८ र सन् २०१० मा एसिसी यु–१९ वुमन च्याम्पिएनसीपको उपाधि जितेको थियो । पछिल्लो समय नेरीले एपिएफ क्लबबाट घरेलु क्रिकेट प्रतियोगिता खेल्दै आएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर